कपिलवस्तुमा चिसोसंगै पानी पर्दा जनजीवन थप प्रभावित

सेयर गर्नुहोस


 कपिलवस्तु : लगातारको चिसोले कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम नलाग्दाँ जिल्लामा अत्यधिक चिसो महसुस भइरहेको हो । ४/५ दिनयता लगातार बढेको चिसो र विहिबारबाट परेको बर्षाले जिल्लामा विपन्न तथा न्यानो कपडाको जोहो गर्न नसक्ने गरिब समुदायका मानिस संकटमा परेका छन् ।

चिसो छल्न दिनरात आगो तापे बस्नु पर्ने बाध्यता आइपरेपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई थप समस्या सिर्जना भएको छ । यसरी दिनरात आगो तापेर बस्नु पर्दा दैनिक छाक टार्न समस्या भएको दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्नेहरुले दुखेसो पोखेका छन् ।

कठ्यांग्रिदो चिसोसँगैको पानीले बिहानैदेखि कपिलवस्तुको जनजीवन प्रभावित भएको अवस्था छ । बिहानदेखि चिसोसंगै हल्का हावा समेत चल्ने गरेको छ । बिहीबारबाट जिल्लामा पानी पर्दा सर्वसाधारण थप कठ्यांग्रिएका छन् । चिसो छल्न जिल्लावासीले जसोतसो, आ–आफ्नो घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । घाम नलागेर कठ्यांग्रिदो चिसो बढेपछि बालबालिका र वृद्धवृद्धामा धेरै प्रभावित भएका छन् ।

चिसोले शारीरिक रूपमा कमजोर रहेका स–साना बालबालिका, वृद्धवृद्धाहरुलाई धेरै जोखिम रहने चिकित्सकहरूको सुझाव छ । चिसोका कारण अहिले रुघाखोकी लाग्ने, घाँटी, टाउको र छाती दुख्ने, ज्वरो आउने समस्याका विरामी प्रत्येक घरका रहेका छन् । यस्ता लक्षणका कारण कोरोना संक्रमणको जोखिम आशंकाले समुदायका थप त्रास सृजना गरेको छ । जिल्लामा चिसो अत्यधिक बढेको कारण सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कँदा शरीरमा चिसो नपस्ने गरी न्यानो कपडा लगाउन र बेलाबेलामा तातो र झोलिलो खानेकुरा धेरै खान चिकित्सकहरूले आग्रह गरेका छन् ।

साथै चिसोमा हुने संक्रमण अहिले धेरै देखिने भएकाले कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्था गएर उपचार गराउनसमेत सुझाव दिएका छन् ।यता स्थानीय सरकारले चिसोबाट आफ्ना नागरिक जोगाउन कुनै व्यवस्था नगरेको गुनासो बढ्न थालेको छ । जिल्लाको केही पालिकाले चोकचोकमा दाउरा बाँड्नेबाहेक कुनै काम नगरेका स्थानीयहरुले गुनासो गरेका छन् ।

 

Facebook Comments Box