कपिलवस्तुको अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज दिने कार्यक्रम अनिश्चित

सेयर गर्नुहोस

 

कपिलवस्तु ५ माघ -कपिलवस्तुमा अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने कार्यक्रम अनिश्चित बनेको छ । हालसम्म सरकारबाट थप खोप प्राप्त नहुदाँ बुस्टर डोज खोप दिने कार्यक्रम अनिश्चित बनेको हो । जिल्लाका लागी बाराम्बार थप खोप माग गरिएको तर सरकारले अझैसम्म बुस्टर डोजका लागी थप खोप नदिएपछि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज खोप दिने कार्यक्रमको टुङ्गो नलागेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भयो ।

जिल्लामा अहिले १८ बर्ष उमेर माथिकालाई कोरोना विरुद्धको खोप दिने कार्यक्रम भने चलिरहेको उनले बताउनु भयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विमानस्थलभित्र र एयरलाइन्सका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरू पर्दछन् । हाल जिल्लामा एक सय ३६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा कोरोना परिक्षणको दायरा फराकिलो नभएको भन्दै अधिकारीहरुले आलोेचना गर्दै आएका छन् । यद्यपी जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले आवश्यकताअनुसार जिल्लाका १० पालिकामा रहेको स्वास्थ्य चौकीमार्फत परिक्षण भईरहेको बताउनु भयो । प्रमुख पाण्डेका अनुसार कृष्णनगर नाकामा दैनिक १५० देखि २०० जनामा कोरोना परिक्षण गरिएको र २० देखि ३० जनामा संक्रमण पुष्टि भएको छ ।

कपिवलस्तुमा हालसम्म ४ लाख ७ हजार ४ सय ३६ जनाले कोरोना विरुद्धको कम्तिमा एक मात्रा खोप लगाएका छन् । जसमध्ये २ लाख १५ हजार ८६ जनाले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका ७० हजार बढी किशोर किशोरीले कोरोना विरुद्धको मोर्डना खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Facebook Comments Box