काेभिड–१९ : काठमाण्डौसहित ५ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै

काठमाण्डौ –
नेपालका पाँच जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) का सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ र कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ ।
यस्तै दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला ६ वटा छ । मन्त्रालयका अनुसार सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा धेरै छ ।
यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला मुगु मात्रै छ । केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ ।
बढ्दै सङ्क्रमण दर
यही पुसको २० गतेको स्वास्थ्य मन्त्रालयको दैनिक कोभिड–१९ विवरणले सङ्क्रमण दर चार दशमलव ११ प्रतिशत देखाएको थियो । त्यस दिन पीसीआर र एन्टिजेन गरी नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता दिनहुँ बढिरहेको सङ्क्रमण दर हिजो बिहीवार पुस २९ गतेसम्म आइपुग्दा २३ दशमलव ५५ प्रतिशतमा पुगेको छ । हिजो पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण भएकोमा २३ दशमलव ५५ अर्थात् तीन हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । यही पुसको २० गतेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ जना रहेकोमा हिजो बिहीवारसम्म त्यो सङ्ख्या १४ हजार तीन सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमण बढेसँगै अस्पतालमा कोभिड बिरामीको सङ्ख्या थपिँदै गएको छ । अहिले अस्पतालमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरू जाने क्रम बढेको छ । अहिले घाँटी र जिउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी र ज्वरो सहितका लक्षण लिएर मानिसहरू अस्पताल आइरहेका स्वास्थ्यकर्मीले बताएका छन् ।
सरकारले कोरोना सङ्क्रमणबाट बच्न कोरोना खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गर्दै आइरहेको छ । योसँगै सरकारले कोभिडसम्बन्धी विभिन्न निर्देशन दिएर पालना गराउन विभिन्न निकायलाई आग्रह गरेको छ ।
यसैबीच कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस भए पनि यो भाइरस विशेषगरी खोप नलगाएकाहरूका लागि भने खतरनाक नै हुने बताउनुभएको हो । उहाँले ओमिक्रोनको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गर्नुभएको छ ।
