प्रहरी कार्यालयमै खिया लाग्यो नियन्त्रणमा लिइएका सवारीसाधन

दाङ : इलाका प्रहरी कार्यालय‚ तुलसीपुरको परिसर पछाडि विभिन्न कम्पनीका बेवारिसे मोटरसाइकल छन्। विभिन्न समयमा भएका दुर्घटनामा वा चेकजाँचका क्रममा कागजपत्र नभएपछि नियन्त्रणमा लिएर ती मोटरसाइकल राखिएको हो।
कार्यालयका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका सवारीसाधनका धनी लिन नआउँदा मोटरसाइकलमा खिया लागेको छ। त्यहाँ ३० वटा जति मोटरसाइकल छन्। तीमध्ये केही तीन वर्षदेखि त्यहाँ छन्। कार्यालयमा ठाउँअभाव भएकाले ती सवारी साधनलाई कार्यालयपछाडि राखेको उनले बताए।
‘प्रहरीले चेकजाँचको क्रममा कागजपत्र नभएका र दुर्घटना भएका सवारी साधनहरू नियन्त्रणमा लिन्छ‚’ डिएसपी अर्यालले भने‚ ‘तर, कतिपय सवारीधनीहरू लामो समयसम्म नआउँदा सवारी साधनमा खिया लाग्ने गरी राख्नु परेको छ।’
ट्राफिक प्रहरी कार्यालयमा पनि सवारी साधनहरू खिया लागेको अवस्थामा देख्न सकिन्छ। यहाँ पनि दुर्घटना वा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका करिब २५ वटा मोटरसाइकल रहेको कार्यालय प्रमुख सई कृष्ण पुजाराले बताए। उनका अनुसार केही मोटरसाइकललाई कार्यालयको कोठाभित्र राखिए पनि केहीलाई ठाउँ अभावका कारण कार्यालय परिसरबाहिर राखिएको छ।
‘नियन्त्रणमा लिएको लामो समयसम्म सवारीसाधन लिन नआउनुको कारणमा रिन्यु फेल भएर पनि हुन सक्छ। लामो समयसम्म कर नतिर्ने र नियन्त्रणपछि कर तिर्नुपर्ने भएकाले धेरै लाग्ने गर्दा पनि हुनसक्छ‚’ पुजाराले भने‚ ‘त्यस्तै कुनै पनि कागजपत्र भएका सवारीसाधन पनि लिन आउनु हुन्न। ती पनि चोरीका हुन सक्छन्। त्यसैले गर्दा कार्यालयमा धेरै लामो समयसम्म सवारी साधन हुन्छन्।’
त्यस्तै‚ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा पनि साना तथा ठूला सवारीमा घाँस नै उम्रिएको छ। तर, ट्राफिक प्रहरीले भने सीमित समयसम्म राखेर ती सवारी साधनहरू भन्सारमा बुझाउने गरेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले बताए।
जिल्ला ट्राफिक कार्यालयको मातहतमा रहेका कार्यालयहरूमा त्यति धेरै सवारीसाधन नभएको जिसीले बताए। ट्राफिक प्रहरी कार्यालयले लिलामी गर्न नमिल्दा लामो समयसम्म सवारी साधनहरू कार्यालयमै रहने उनको भनाइ छ। जिसीले नियन्त्रणमा लिइएका सवारीसाधनहरू अत्यावश्यक काम परे मात्र प्रयोग हुने समेत बताए।
‘प्रहरीले आफ्नो निजी कामका लागि प्रयोग गर्दैन‚’ उनले भने‚ ‘कुनै प्रहरी कार्यालयमा सवारी साधन नभएको अवस्थामा कार्यालयको कामका लागि कतै कतै प्रयोग गरेको पाइन्छ।’
असोजमा नियन्त्रण गरिएको टिपरलाई अझै कारबाही भएन
बिनाकागजात खोलाबाट ढुंगा बोकेर क्रसर उद्योगमा ओसार्दै गरेको अवस्थामा फोर लेनका चार वटा टिपर प्रहरीले गत असोजमा नियन्त्रणमा लिएको थियो। दंगीशरण गाउँपालिकाको बालापुरबाट प्रहरीले प्रदेश २०३००१ (ख) १८७१, प्र २०३००१ (ख) १७२५, प्र २०३००१ (ख) १८७६ र प्र २०३००१ (ख) १८८२ नम्बरका टिप्परले अबैध रुपमा ढुंगा बाकेको अवस्थमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
ती टिपरलाई इलाका प्रहरी कार्यालयले कारबाहीका लागि तुलसीपुर उपमहानगरपालिकालाई पत्र पठायो। तीमध्ये एउटा टिपर मात्रा जरिवाना तिरेर लगिएयो। १८७१, १८७६ र १८८२ नम्बरका टिपर ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा रहेका छन्। लामोसम्म पनि कारबाही नभएपछि राख्ने ठाउँको अभाव भएपछि अहिले ती टिपर ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा रहेका छन्।
आफूहरूले कारबाहीको लागि उपमहानगरलाई पत्र पठाएको भएयता पनि उताबाट कारबाही नहुँदा इप्रकामा राख्ने ठाउँको अभाव हुँदा ट्राफिक कार्यालयमा पठाएको इप्रकाका प्रमुख डिएसपी अयार्लले बताए।
