गोलभेंडाले राम्रो मूल्य पाउँदा सर्लाहीका किसान मक्ख

सेयर गर्नुहोस

 

 

सर्लाही : गोलभेंडाले राम्रो मूल्य पाउँदा सर्लाहीका किसान मक्ख परेका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो मूल्य पाएको किसानहरूले बताएका छन्।

लालबन्दी र नवलपुरमा रहेको थोक तरकारी बजारमा प्रतिक्यारेट एक हजार ३०० देखि एक हजार ४०० रुपैयाँसम्म बिक्री भइरहेको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ। एक क्यारेटमा २५ किलो गोलभेंडा हुन्छ। अहिले प्रतिकेकिलो ५० देखि ५५ रुपैयाँमा गोलभेंडा बिक्री भइरहेको छ। गत वर्ष यहाँका किसानले उत्पादनको मुख्य याममा प्रतिकिलो १० रुपैयाँसम्म बिक्री गरेका थिए।

हरिवन नगरपालिका–३ डाबरीका नमाबहादुर आलेले यस वर्ष गोलभेंडाको राम्रो मूल्य पाइरहेको बताए। ‘अघिल्लो वर्ष उत्पादन लागत समेत उठ्न मुस्किल भएको थियो। यो वर्ष राम्रो भाउ पाइरहेका छौँ,’ आलेले भने, ‘यही मूल्य कायम रहे किसानलाई ठूलो राहत मिल्छ।’

आलेले पाँच कठ्ठामा गोलभेंडा खेती गरेको बताए। उनले एक दिन बिराएर टिप्दा प्रत्येक पटक ८ देखि १० क्यारेट हुने बताए। ‘मंसिरको अन्तिम सातादेखि १ लाख रूपैयाँ हाराहारीको गोलभेंडा बेचिसकें‚’ आलेले भने‚ ‘फागुनसम्म दुई लाख कमाइ हुने अनुमान छ।’

सर्लाहीको उत्तरी भेगमा रहेको लालबन्दी, पत्थरकोट, घुर्कौली, हीरापुर, रानिगञ्ज, सासापुर, नवलपुर, हरिवन, अत्रौलीलगायतको क्षेत्रमा व्यावसायिक गोलभेंडा खेती हुने गर्छ। यहाँ उत्पादन भएको गोलभेंडा लालबन्दी र नवलपुर बजारका साथै काठमाडौं पोखरा, नारायणगढ, सिन्धुलीसहित देशका प्रमुख शहरहरुमा निर्यात हुने गरेको व्यापारीहरु बताउँछन्।

यो वर्ष तीहारपछि भएको बर्षातको कारण विरुवा नष्ट हुँदा उत्पादन कम भएकाले गोलभेंडा किसानले राम्रो भाउ पाइरहेका लालबन्दीका तरकारी व्यापारी एवं कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरन बहादुर मगरती मगरले बताए।

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहाका अनुसार सर्लाहीमा १ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेंडा खेती हुने गरेको छ।

Facebook Comments Box