नेपाल – भारत रेलवे : जनकपुर-जयनगर रेलमार्गको सञ्चालन प्रक्रिया पुरा

काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भएको छ । भारतको नयाँ दिल्लीमा अन्तरदेशीय रेलमार्गबारे बसेको नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा अपरेटिङ प्रोसिड्योरमा हस्ताक्षर भएको भारतीय दूतावासले टि्वटरमार्फत जानकारी दिएको छ ।
सन् २०१४ देखि बन्द रहेको यो रेलमार्ग फेरि कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थासहित प्रोसिड्योरको मस्यौदा तयार भएको थियो । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका पूर्वाधारहरु आवश्यक पर्छ । तर, जनकपुर-जयनगर रेलमार्गमा यस्ता पूर्वाधारहरु तयार भएका छैनन् । प्रोसिड्योरमा क्रमैसँग यस्ता आवश्यक पूर्वाधार राख्दै रेल चलाउने व्यवस्था गरिएको छ । भन्सार पूर्वाधार नेपालको इनर्वा स्टेसनमा राख्ने सहमति भएको छ ।
रेलमार्ग भएर तेस्रो देशका नागरिक विनाभिसा आवातजावत हुनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न गर्नुपर्ने व्यवस्थाबारे पनि उल्लेख छ । त्यसैगरी दुबैतर्फ भन्सारको पूर्वाधार नभएको रेलमार्फत हुनसक्ने अवैध ओसारपसार नियन्त्रणका लागि पनि सुरक्षा संयनत्र परिचालन गर्ने सहमति नेपाल र भारतबीच भएको छ ।
दुवैतर्फका सीमा स्टेसनमा त्यसका भवनहरु बनेपनि दुबै सरकारले भन्सार र अध्यागमनका लागि आवश्यक संस्थागत संरचना राख्ने निर्णय लिइसकेका छैनन् ।
महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्नेबारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कताबारेका व्यवस्था पनि यसमा राखिएको छ ।
