चीनले ताइवाननजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक

सेयर गर्नुहोस

बेइजिङ  । चीनले ताइवाननजिकै नयाँ लडाकु विमान जे–१६ डी तैनाथ गरेको तस्बिर सार्वजनिक भएको छ। इलेक्ट्रोनिक युद्धको लागि ताइवानको पश्चिमी एयरवेसमा चीनले सो विमान तैनाथ गरेको स्याटेलाइट तस्बिर हालै सार्वजनिक भएको हो।

सो तस्बिर चीनको पिपुल्स लिवरेसन आर्मीले सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। इलेक्ट्रोनिक युद्धको लागि चीनले तैनाथ गरेको नयाँ लडाकु विमानले ताइवान स्ट्रेट क्षेत्रमा द्वन्द्व र तनाव झनै बढाउने साउथ चाइना मर्निङ पोष्टमा बिहीबार प्रकाशित समाचारमा उल्लेख छ।

यद्यपि, इलेक्ट्रोनिक युद्धको लागि डिजाइन गरिएका नयाँ लडाकु विमान कुन प्रयोजनको लागि सो क्षेत्रमा तैनाथ गरिएको हो भन्नेबारे कुनै सूचना बाहिर नआएको समाचारमा उल्लेख छ।

पछिल्लो समय चीनले लगातार तीन दिन ताइवानको वायु रक्षा क्षेत्रमा ठूलो संख्यामा युद्धक विमान पठाएको थियो। ताइवानको रक्षा मन्त्रालयले चीनको सो सैन्य गतिविधिको प्रतिक्रिया दिँदै दुई देशबिचको सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको र आगामी ४ वर्षभित्रमा चीनले जुनसुकै समयमा ताइवानमाथि आक्रमण गर्न सक्ने बताउँदै आएको छ।

Facebook Comments Box