कृष्णनगरको पानीमा भेटियो कोलिफर्म ब्याक्टेरिया :संघीय प्रयाेगशाला

कपिलवस्तु ,असाेज २१ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखालाबाट प्रभावित क्षेत्रको पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । संघीय प्रयोगशाला बुटवलमा पानी परीक्षण गर्दा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको शिवराज अस्पताल, कपिलवस्तुका निमित्त सुपरिटेण्डेन्ट डा. मुकेश चौधरीले जानकारी दिए ।
‘पानी परीक्षणको रिपोर्टमा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया पाइएको छ,’ डा. चौधरीले भने । कोलिफर्म ब्याक्टेरिया दिशामा पाइने जीवाणु हो । पानीमा कसरी दिशाका जीवाणु मिश्रण भयो भन्ने यकिन भइनसकेको डा. चौधरीले बताए ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि र सय फिटभन्दा कममा गाडेको हाते पम्पको पानीबाट नमुना लिएको थियो । तीमध्ये सय फिटको पम्पमा जीवाणु फेला नपरेको डा. चौधरीले बताए । रिपोर्टको पूर्ण विवरण आइनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले केही नमुनामा कोलिफर्म ब्याक्टेरिया फेला परेको पुष्टि गरे । तर झाडापखाला फैलिनुको अन्य पनि कारण हुन सक्ने भएकाले आवश्यक अनुसन्धानका लागि थप नमुनाको परीक्षण भइरहेको उनले बताए ।
