चीनमा पढेका विद्यार्थी आन्दाेलित , भविष्य धरापमा पर्ने चिन्ता

काठमाडौं । चीनमा एमबीबीएस गरेका सन् २०१५ र २०१६ व्याचका विद्यार्थीहरुले इन्टर्नसीप गर्न पाउँ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले अध्ययन गरेको लामो समय वितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्दै बिहीबार राजधानीमा प्रदर्शन गरेका हुन् ।
नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा नेपालमा इन्टर्नसीप गर्न नपाएको उनीहरुको गुनासो छ । विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा वाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने प्रावधान छ ।
सो नियमप्रति उनीहरुले आपत्ति जनाउँदै आएका छन् । सन् २०१९ को डिसेम्वरको अन्तिममा चीनमा कोरोना भाइरस फैलिएपछि विद्यार्थीहरु नेपाल फर्किएका थिए । उनीहरु पुनःचीन जान पाएका छैनन्। पीडित विद्यार्थीले विशेष कारण भन्दै स्वदेशमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
तर, चीनबाटै एमबीबीएस पढेका सन् २०१४ व्याचका विद्यार्थीले नेपालमा नै इन्टर्नसीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले तोकेको फारम भरी आवश्यक विवरणसहित असोज ४, ५ र ६ गते प्रमाणपत्र रुजु गराउन सुचित गरेको थियो ।
