नेपाल-भारत सेनाबीच सैन्य अभ्यास शुरु

सेयर गर्नुहोस


काठमाडौं । नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास सुरु भएको छ । भारतको पिथौरागढमा सोमबारबाट नेपाल र भारतबीच सैन्य अभ्यास सुरु भएको हो । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास (एक्सरसाइज) सूर्य किरण’को नाम दिइएको छ । सैन्य अभ्यास प्रतिआतंकवाद र जंगल वारफेयरमा केन्द्रीत छ । भारतको उत्तराखण्डको पिथौरागढमा सुरु एक्सरसाइज सूर्य किरणको यो १५ औं संस्करण हो । सैन्य अभ्यास कार्तिक १३ गतेसम्म चल्नेछ ।

नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गरेको छ । नेपाली टोलीमा ३०० जनाको फौज छ । भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज सैन्य अभ्यासमा सहभागी छ । नेपाली सेनाको टोली शनिबार पिथौरागढ पुगेको थियो ।

अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षणलगायतमा केन्द्रीत हुनेछ। यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्‍याउनेछ । अभ्यास सूर्यकिरणमा नेपाली र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त प्रशिक्षण हुँदै आएको छ ।

अभ्यास सूर्य किरणको १४ औं संस्करण नेपालमा भएको थियो । रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा ‘अभ्यास सूर्य किरण’को १४ संस्करण भएको थियो ।

त्यसअघि ‘अभ्यास सूर्यकिरण’को १३ औं संस्करण उत्तराखण्डको पिथौरागढमा भएको थियो । नेपालमा भएको १४ संस्करणपछि कोरोना भाइरस संक्रमणका कारण अभ्यास रोकिएको थियो ।

Facebook Comments Box