तराईमा जन्मसिद्ध नागरिकका सन्तानको माग : नागरिकता देउ, नभए देश निकाला गरिदेउ !

सेयर गर्नुहोस


वीरगन्ज । जन्मको आधारमा नेपाली नागरिकता बनाएकाहरुका सन्तानले नागरिकताको माग गर्दै वीरगन्जमा आइतबार प्रदर्शन गरेका छन् ।

वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा उनीहरुले प्रदर्शन गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् । नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ मा संविधान जारी हुनु भन्दा पहिले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले बाबु र आमा दुबै नेपाली नागरिक रहेछन् भने निजकाे सन्तान भएपछि बंशजको नागरिकता प्राप्त गर्नेछ उल्लेख छ ।

तर बुबा र आमा दुवैको जन्मको आधारमा नागरिकता हुँदा समेत सरकारले आफूहरुलाई वर्षौँदेखि अनागरिक बनाएर राखेको भन्दै पर्साका विभिन्न पालिकाबाट आइतबार सदरमुकाम वीरगन्ज आएका उनीहरुले नागरिकताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारीलाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापन पत्रमा मार्फत उनीहरुले संसदमा विचाराधिन नागरिक सम्बन्धी विधेयक पास गराउन पनि सरकारसँग माग गरेका छन् ।

नागरिकता नभएकै कारण आफूहरुमध्ये कतिपयले उच्च शिक्षा अध्ययन गर्न नपाएको, बैंकमा खाता सम्म खोल्न नपाएको, देशभित्रै रोजगारी नपाएको, वैदेशिक रोजगारीमा समेत जान नपाएको गुनासो पनि उनिहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

ज्ञापनपत्र मार्फत उनीहरुले अहिलेसम्म नागरिकता नभएका कारण आफूहरुले गुमाएका अवसर र सेवाको क्षतिपूर्ति पनि सरकारले दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागी पर्साको पटेर्वासुगौली गापा ५ निचुटाका २८ वर्षीय युवक अमर राउत मेस्तरले, आफनै दाजु अमृतले बंशजको आधारमा नागरिकता पाइसकेको तर त्यही दाजुको भाई आफू भने अहिलेसम्म अनागरिक भएर बस्नु परेको दुखेसो पोखे ।

उनले भने ,‘२०६३ सालमा बुबाको जन्मका आधारमा नागरिकता बन्यो, त्यसपछि आमाको पनि बन्यो , त्यस बेला कुनै रोकतोक थिएन त्यसैले बुबा र आमाकै नामबाट दाइले बंजको नागरिकता बनाइहाले, त्यो बेला मेरो उमेर नपुगेकाले बन्न सकेन, अहिले उमेर पुगेर पनि २८ वर्षमा लागि सके तर हातमा नागरिकता नै छैन,’ दुई दाजुभाई बीचमा पनि सरकारले विभेद गरेको उनको गुनासो छ ।

स्नताक अध्ययन सकिसकेको भए पनि नागरिकता नभएकै कारण आफूले जागीर नपाएको दुखेसो उनले पोखे । अमृतसँगै प्रदर्शनमा सहभागी उनका छिमेकी बिक्रम यादवको दुखेसो पनि उिही छ । बिक्रमले भने,‘मेरो पनि बुबाको नागरिकता जन्मसिद्ध हो, त्यो बेला मेरो कान्छो भाइले नागरिकता बनाइहाल्यो म पछि बनाउला नि भनेर बसेँ, तर अहिले म नेपाली नै होइन भन्ने व्यवहार सरकारले गरेर मलाई नागरिकता दिन मानेको छैन ।”

नेपालमा आफू जस्तै जन्मसिद्ध नागरिकका ५ लाख भन्दा बढी सन्तानहरु अनागरिक बनेरै बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए । यादवले भने,‘नागरिकता विधेयक छिट्टै पास गरेर कि त सरकारले हामीलाई नागरिकता देओस् होइन भने हामीलाई नेपाली नागरिकका सन्तान नै होइन भनेर देश निकाला गरिदिओस् ।’

Facebook Comments Box