अविरल बर्षा कारण पश्चिम नवलपरासीकाे जनजीवन कष्टकर ,सयाैँ घर डुबानमा
लक्ष्मण बि सि,
११ भदौ अर्घाखाँची
अविरल वर्षाका कारण आएको बाढीले नवलपरासी पश्चिमको जनजीवन कष्टकर बनेको छ। भने सयांै घरहरु डुबानमा परेका छन।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सरावल गाउँपालिका , प्रतापपुर गाउँपालिका ,पाल्हिनन्दन गाउँपालिका, सुस्ता गाउँपालिका ,रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाका अधिकांश गाउँहरूमा पसेको बाढीले स्थानीय बासिको घरमा क्षति पुर्याएको छ।सदरमुकाम हुँदै बगेको झरही नदी ओभर फ्लो भै परासी बजारमा बाढी पसेको हो। बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन्।
बजारको पूर्व झरही नदी र पश्चिम रावनखन्डा खोलाको बाढी बजारमा पसेर जिल्लाको रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा १ सहुवाटिकर, वडा २ को मस्जिदटोल, हाटबजार टोल, ३ को सङम टोल, मालटोल,लोकतान्त्रिक टोल, वडा ५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुध्चोक्टोल र वडा६ पोखरापाली टोल पुरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु बर्षाको पानीले जलमग्न भएको छ।
बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र आर्मी ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
डिएसपी लामाले भने, ‘अहिले पानी परिरहेको छ बढ्दो बाढीले कतै मुभ हुन सकिएको छैन । जिल्लामा कहाँ के भाको छ पता लगाउन सकिएको छैन भने बजारको वास्तविक क्षतिको विवरण समेत संकलन पनि गर्न सकिएको छैन ।’
पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।
डुवानका कारण घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने गरेको स्थानीयले जानकारी दिएका छन ।
झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले गाउँमा पानी पस्दा डुबानमा परेको हो।
गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । बाटाे तथा खेतमा जलमग्न भएको हुनाले अावतजावत गर्न समस्या भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।
साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।
बाढी गाउँघरमा पसेकोले कतिपय गाउँमा जागरन समेत बसेका थिए । जिल्लाका विभिन्न नदीहरुमा पानीको बहाब बढ्नुको साथै बस्तीमा पनि पानी पसेको छ । बस्तीका घरहरुका कोठाकोठासम्म पानी पसेर बस्न नै समस्या भएको स्थानीयले बताएका छन् ।
