हिन्दू स्वयंसेवक संघले नेपालमा सुरु गर्यो हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान

काठमाडौँ । भारतको हिन्दुवादी संस्था राष्ट्रिय स्वंय सेवक संघसँग आबद्ध हिन्दु स्वंय सेवक संघले नेपालमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सुरु गरेको छ। नेपाल र नेपालीको पहिचान तथा स्वाभिमानका लागि अभियान सुरु गरिएको राष्ट्रिय संयोजक रुकमाङ्गत कटवालले जानकारी दिए।
ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा अभियानको उद्घाटनपछि पूर्व प्रधानसेनापतिसमेत रहेका कटवालले भने, ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दु संस्कृति हो। यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उदेश्य हो।’
कार्यक्रममा राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सिएको हुनाले नै समाजमा विकृति विसंगति मौलाइरहेको बताए।
जुममार्फत गरिएको कार्यक्रममा देशभरका एक हजार कार्यकर्ताहरु जोडिएको थिए। राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दु राष्ट्रको हाम्रो संकल्पना विषयमा बोल्दै सबै संस्कृतिले सहजताका साथ सास फेर्न सक्ने सुनिश्चितता हिन्दु संस्कृति रहेको उल्लेख गरे। उनले हिन्दु धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएको उल्लेख गर्दै उनले पछिल्लो समय विधर्मीको लहैलहैमा बगेर गएकाले अनेक समस्या आइपरेको बताए।
हिन्दु स्वंयसेवक संघ नेपालका कल्याणकुमार तिम्सिनाले हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान भएको बताए।
