बेचबिखनको दलदलबाट फर्किएकी एक चेलीको पुनर्जन्म
कुनै छोरीको जीवन कति पीडादायी हुन सक्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न सजिलो छैन। बाल्यकालदेखि नै असुरक्षा, हिंसा, यौन शोषण, बेचबिखन र सामाजिक उपेक्षाको पीडा बोकेकी एक युवतीको जीवनकथा सुन्दा जो कोहीको मन भारी हुन्छ। तर यही कथाले एउटा सत्य पनि उजागर गर्छ—अँध्यारो जतिसुकै गाढा भए पनि आशाको एउटा किरणले जीवनलाई फेरि उज्यालो बनाउन सक्छ।
माओवादी जनयुद्धका क्रममा बुवाको मृत्यु भएपछि उनको बाल्यकाल अभाव र असुरक्षाबीच बित्यो। आमाले दोस्रो विवाह गरेपछि उनी नयाँ परिवारसँग बस्न थालिन्। तर उनले खोजेको माया, सुरक्षा र अपनत्वको सट्टा यौन दुव्र्यवहार तथा जबरजस्ती करणीको प्रयासको पीडा भोग्नुपर्यो। आफ्ना पीडाका कुरा आमा समक्ष राख्दा पनि उनको आवाजभन्दा दोस्रो वैवाहिक सम्बन्ध जोगाउने चिन्ता ठूलो बन्यो। अन्ततः सानै उमेरमा मानसिक अवस्था कमजोर भएका व्यक्तिसँग उनको विवाह गराइयो।
विवाहपछि पनि उनको जीवनमा सुखको कुनै अध्याय लेखिएन। श्रीमान् स्वयं असहाय अवस्थामा थिए भने परिवारभित्र असुरक्षा कायम रह्यो। श्रीमाननका आफन्तबाट समेत यौन दुव्र्यवहार सहनुपरेपछि उनले आफ्नो भविष्य अन्धकारबाहेक केही देख्न सकिनन् अन्ततः उनी घर छोडेर लहान पुगिन् र एउटा होटलमा भाँडा माझ्ने काम गर्दै जीवन धान्न थालिन्।
तर गरिबी, असहाय अवस्था र राम्रो जीवनको चाहनाको फाइदा उठाउँदै केही व्यक्तिहरूले उनलाई आकर्षक तलब र राम्रो भविष्यको सपना देखाए। ती सपना वास्तवमा मानव बेचबिखनको जाल थिए। उनलाई भारत लगियो र एउटा आर्केस्ट्रामा काम गर्न बाध्य बनाइयो। तीन वर्षसम्म उनले कठोर श्रम गरिन्, तर आफ्नो पसिनाको मूल्य कहिल्यै पाइनन्। तलब माग्दा “तिमीलाई किनेर ल्याइएको हो, यहाँ खान र बस्न पाउनु नै पर्याप्त हो” भन्ने अपमानजनक जवाफ सुन्नुपर्थ्यो।
तीन वर्षको शोषणपछि उनी त्यहाँबाट भाग्न सफल भइन्। तर दुर्भाग्य भनौ त्यो दुखले अझै उनको छोडेन उनी भौतारीदै भारतको बेतिया पुगेपछि एक महिलाले दिल्लीमा राम्रो काम र राम्रो तलबको आश्वासन दिँदै उनलाई फेरि आफ्नो जालमा पारिन्। दिल्लीको मालवी नगर पुर्याएर उनी पुन बेचिनु पर्यो र उनी देह व्यापारमा धकेलिइन्। थप तीन वर्षसम्म उनले शारीरिक, मानसिक र भावनात्मक शोषण सहन बाध्य भइन्।
समय बित्दै जाँदा उनले जीवनप्रति आशा नै हराइसकेकी थिइन्। तर मनको कुनै कुनामा स्वतन्त्र भएर बाँच्ने चाहना अझै बाँकी थियो। अन्ततः साहस जुटाउँदै उनी त्यहाँबाट पनि भाग्न सफल भइन्। भारतको गुरुग्राम पुगेपछि सामाजिक सञ्जालमार्फत सहयोग खोज्ने क्रममा उनको सम्पर्क आफन्त इन्डिया फाउन्डेसनसँग भयो। उनको पीडा र अवस्थाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकाय, नेपाल दूतावास तथा साझेदार संस्थाहरूको समन्वयमा उद्धार प्रक्रिया अघि बढाइयो।
उनी मात्र होइनन्, सोही अवधिमा जोखिममा परेका अन्य पाँच जना नेपाली महिला तथा किशोरीसहित कुल छ जनालाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काइएको थियो। यी छ जना केवल प्रतिनिधि पात्र हुन्। यस्ता सयौं नेपाली चेलीहरू विभिन्न देश तथा स्थानहरूमा अझै पनि बेचबिखन, श्रम शोषण, यौन शोषण र हिंसाको जोखिममा रहेका छन्। उनीहरूको उद्धार, संरक्षण र पुनःस्थापनाका लागि निरन्तर प्रयासहरू जारी छन्।
उद्धारपछि उनी लगाय्त अन्य चीलीहरु हाल आफन्त नेपाल पर्साको संरक्षणमा रहेकी छन्। संस्थाले उनीहरुलाई सुरक्षित आश्रय दिरहेको छ ।
वर्षौंसम्म पीडा, हिंसा र शोषण सहेर बाँच्न बाध्य भएकी उनी अहिले सुरक्षित वातावरणमा नयाँ जीवनको सुरुवात गर्ने प्रयासमा छिन्।
मानव बेचबिखन तथा विभिन्न प्रकारका हिंसाबाट प्रभावित महिला तथा किशोरीहरूको उद्धार मात्र नभई उनीहरूको जीवन रूपान्तरणका लागि समेत आफन्त नेपालले निरन्तर काम गर्दै आएको छ। संस्थाले सुरक्षित आवास, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा संरक्षणका सेवासँगै आत्मनिर्भर जीवनयापनका लागि विभिन्न आधारभूत सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ। आधारभूत तालिम सम्पन्न गरेका महिला तथा किशोरीहरूलाई थप दक्षता अभिवृद्धि र व्यावसायिक सीप विकासका लागि साझेदार संस्था चेली नेपाल सँग समन्वय गरी उन्नत स्तरका तालिमहरूमा सिफारिस गरिन्छ।
चेली नेपालद्वारा CTEVT मान्यता प्राप्त विभिन्न व्यावसायिक तालिमहरू सञ्चालन हुँदै आएका छन्। बार्बर, बेकरी, इलेक्ट्रिकल, एडभान्स सिलाइ–कटाइ तथा फेसन डिजाइनिङ लगायतका तालिमहरूले पीडित तथा जोखिममा परेका महिलाहरूलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गरेका छन्। यस्ता कार्यक्रमबाट लाभान्वित धेरै महिलाहरू आज स्वरोजगार बन्न सफल भएका छन् भने कतिपयले विभिन्न क्षेत्रमा सम्मानजनक रोजगारी प्राप्त गरी आफ्ना परिवारको जीवनस्तर सुधार्न सफल भएका छन्। यसरी उद्धारदेखि पुनःस्थापना, सीप विकास र आर्थिक सशक्तीकरणसम्मको समग्र प्रक्रियामार्फत आफन्त नेपालले जोखिममा परेका चेलीहरूको जीवनमा नयाँ आशा र सम्भावनाको ढोका खोल्दै आएको छ।
२०६४ सालदेखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील रहेको आफन्त नेपाल मानव बेचबिखन विरुद्धको राष्ट्रिय समिति सदस्य समेत रहेको छ संस्थाले वर्षौंदेखि जोखिममा परेका महिला तथा किशोरीहरूको उद्धार, संरक्षण, पुनःस्थापना, पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्एकीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
सस्थाले उद्धारले मात्र जोखिम कम हुने कुरालाई आत्मा साथ गर्दै, उद्धारपछि पीडितको जीवनलाई पुनः निर्माण गर्ने यात्रामा निरन्तर साथ दिरहेको छ ।
आफन्त नेपालको अत्यन्त गर्भिलो पक्ष जोखिमबाट बाहिर निकाल्ने काम मात्र गर्दैन, बरु पीडित महिलाहरूलाई आत्मविश्वास, सीप, शिक्षा र अवसर प्रदान गर्दै सम्मानजनक जीवनतर्फ डोर्याउने काम पनि गर्छ। यही कारणले संस्थाको काम केवल सेवा मात्र नभई जीवन रूपान्तरणको अभियान बनेको छ।
आज यी युवती सुरक्षित छिन्। उनको अनुहारमा आशाको झिल्को देखिन थालेको छ। एक समय आफूलाई संसारमै एक्लो ठान्ने उनी आज भविष्यका सपना देख्न थालेकी छन् आफन्त नेपालले उनीलाई सुरक्षीत आवास गृह चित
