लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन्।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागुऔषध स्पास्मो १ सय ४४ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरील पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-३ बस्ने ४१ वर्षीया कौशी विश्वकर्मा र ३२ वर्षीया निशा सुनार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, जहदा गाउँपालिका-१ पुरानो टोल बस्ने ५५ वर्षीय श्याम यादव र उनकै छोरा २५ वर्षीय शंकर यादवलाई लागुऔषध गाँजा करिब २ किलोग्राम, नगद ६८ हजार नेपाली रूपैयाँ, १८ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१८ मुसरी टोलमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ तत्काल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा लागुऔषध गाँजा करिब ७ किलोग्राम बरामद भएको थियो। थप अनुसन्धानको क्रममा उक्त घटनामा श्याम यादव र शंकर यादवको संलग्नता खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले श्यामको घर तलासी गर्दा थप गाँजा, नगद र तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन्। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
चितवन, रत्ननगर नगरपालिका-२ टाँडीबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ४६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जय किशोर शाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ परासीझुङ्गा बस्ने २१ वर्षीय अशोक कुमार गौतम र भारत उत्तर प्रदेश पर्सामलिक थाना मौहुलानी बस्ने ३० वर्षीय रामसुरत सहानी रहेका छन्। इलाका प्रहरी कार्यालय धकधई र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ५६ बिसि ४४५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ शृजननगरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम, नियन्त्रित लागुऔषध स्पास्मो ८ ट्याब्लेट र नाइट्राभेट ९ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र ३६ वर्षीय प्रकाश खत्री रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ ब्राईटचोक बस्ने २९ वर्षीय सुभाष भुजेललाई नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-१० प्याङगाउँबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५ हजार ६० ट्याब्लेट र लागुऔषध गाँजा जस्तो देखिने पदार्थ २० ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका-३ घर भएका २८ वर्षीय विजय कुमार स्याङ्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी विट प्याङ्गाउँबाट खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको बा.६ च ६२८२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई छिपाई राखेको उक्त लागुऔषध फेला पारी कार चालक विजय कुमारलाई पक्राउ गरेको हो।
कैलाली, टिकापुर नगरपालिका-१ बसपार्कबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ ब्लक नम्बर ७ बस्ने ३६ वर्षीय कमल प्रसाद बजगाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सर्लाही, हरिपुर्वा नगरपालिका-६ बाट लागुऔषध गाँजा करिब १० किलोग्राम सहित ईश्वरपुर नगरपालिका-१३ श्रीनगर बस्ने ३७ वर्षीय मनोज कुमार महतो समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हरिपुर्वाबाट खटिएको प्रहरीले बसवपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज.६ प २३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सीखोलाबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २० वर्षीय निशान चौधरी र कैलाली धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने २१ वर्षीय राकेश राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ८१७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। थाहा खबर
