राष्ट्रपतिको उम्मेदवारका लागि प्रचण्ड र ओलीबीच आज पनि छलफल

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपतिको उम्मेदवारको विषयमा टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दैछन्।

राष्ट्रपतिको विषयमा सहमति जुटिनसकेकाले प्रचण्डले शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग पुनः छलफल गर्न लागेका हुन्।

बिहीबारको तीन दलको बैठकपछि प्रचण्डले शुक्रबार ओलीसँग वार्ता गर्न लागेको बताएका थिए। ‘छलफल चलिरहेको छ। सबैको सबैसँग चलेको छ। केही टुंगो भएको छैन’, उनले भने, ‘भोलि (शुक्रबार) केपी ओलीसँग मेरो छलफल छ।’ दुई पार्टीका शीर्ष छलफलको समय भने तय भएको छैन।

बिहीबार साँझ सिंहदरबारमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जनता समाजवादीसँगको बैठक बसेको थियो। तीन दलको बैठकमा राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाममा अनौपचारिक सहमति भएको बताइएको छ।

फागुन २५ हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ। शनिबार बिहानसम्ममा राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने भएकाले सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलले दौडधुप तीव्र पारेका छन्।

Facebook Comments Box